मधेशलाई धार्मिक–पर्यटकीय केन्द्र बनाउने अभियानमा सरकार, पर्यटन प्रवर्द्धनमा जोड
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १८ गते ।मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल ले मधेश प्रदेशलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका लागि विभिन्न योजना सञ्चालन भइरहेको जानकारी दिनुभयो। धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहेको उहाँको भनाइ थियो। पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा थप सक्रियता देखाउन आग्रह गर्नुभयो।
मन्त्री पटेलले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर मन्त्रालय अगाडि बढिरहेको बताउँदै पर्यटन क्षेत्रको विकासका लागि ल्याइएका योजनाको प्रभावकारी कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। साथै, २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी उद्योगको दर्ता प्रदेश सरकारअन्तर्गत ल्याउन आफूले पहल गरेको र संघीय सरकारले त्यसलाई कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो। उक्त निर्णयले प्रदेशको राजस्व वृद्धि हुनुका साथै रोजगारीका अवसर विस्तार हुने विश्वास व्यक्त गर्दै उहाँले आफ्नो पहलबाट मधेश मात्र होइन, अन्य प्रदेशहरूले समेत लाभ पाएको दाबी गर्नुभयो।
कमेन्ट गर्नुहोस्
view comments