गणतन्त्रले नागरिकलाई राज्यसत्ताको केन्द्रमा स्थापित गर्‍यो : राष्ट्रपति पौडेल

9 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई राज्यसत्ताको केन्द्रमा स्थापित गर्दै लोकतन्त्रलाई जनताको घरआँगनसम्म पुर्‍याएको बताएका छन् । १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मूल्यमान्यतालाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको आधार निर्माण गरेको उल्लेख गरे । सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको दाबी गर्दै उनले स्थानीय र प्रदेश सरकारहरूले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनता नै अन्तिम मालिक हुने मान्यता स्थापित भएको उल्लेख गर्दै गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको सुनिश्चितता गरेको बताए । उनले गणतन्त्रले विविध जाति, भाषा, धर्म र संस्कृतिलाई एकताबद्ध गर्दै साझा राष्ट्र निर्माणको संकल्पलाई बलियो बनाएको धारणा राखे । समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीद्वारा मार्चपास गरिएको थियो । कार्यक्रममा विभिन्न स्थानीय तहबाट मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिनुका साथै हेलिकप्टरमार्फत पुष्पवृष्टि र ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?