मधेस सरकार शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै, नयाँ गठबन्धनपछि पहिलो ठूलो कदम
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १४ गते । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालको संविधानको धारा १८४ को उपधारा (२) अनुसार प्रदेश प्रमुखमार्फत सरकारको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिने संवैधानिक व्यवस्था रहेको सचिवालयले जनाएको छ ।
सरकार जोगाउन नयाँ सत्ता गठबन्धन बनाएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले हालै मन्त्रिपरिषद्लाई पूर्णता दिएको थियो । नयाँ राजनीतिक समीकरण बनेलगत्तै सरकारले आगामी आर्थिक वर्षका प्राथमिकता र योजनासहित नीति तथा कार्यक्रम ल्याउन लागेको हो । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी तथा पूर्वाधारलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments