दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, अदालतले थुनामुक्त राखेर अनुसन्धान अघि बढाउन आदेश

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १२ गते । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ । प्रहरीले उनलाई जेठ ४ गते वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो । अनुसन्धान अधिकृतहरूका अनुसार उनले युट्युब अन्तर्वार्तामार्फत महिलामाथि अपमानजनक अभिव्यक्ति दिएको, सेना र प्रहरीजस्ता राज्यका निकायलाई होच्याउने टिप्पणी गरेको आरोप छ । साथै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै समूहले सञ्चालन गरिरहेको दाबी गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । अदालतको आदेशपछि प्रसाईं रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?