जनजीवन सुधार र सुशासनमा केन्द्रित सरकार, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
7 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ १२ गते । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको जीवनस्तर सुधार गर्न आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज युरोपेली संघ (इयू) तथा विभिन्न मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले सुशासन, आर्थिक समृद्धि र राजनीतिक स्थिरतालाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे । हालै सम्पन्न निर्वाचनले जनताबाट परिवर्तन र प्रभावकारी शासनको स्पष्ट जनादेश दिएको उल्लेख गर्दै उनले नयाँ सरकार बने पनि नीतिगत निरन्तरता कायम रहने विश्वास दिलाए ।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बन गर्दै छिमेकी राष्ट्र, विकास साझेदार र मित्रदेशहरूसँग सहकार्यलाई अझ मजबुत बनाउने बताए । व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो । भेटका क्रममा राजदूतहरूले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गर्दै नयाँ सरकारसँग आर्थिक विकास, सुशासन र समृद्धिका क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताएका थिए ।
कमेन्ट गर्नुहोस्
view comments