तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने, बजेटमार्फत घोषणा हुँदै
13 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १० गते । तीन वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि हुने निश्चित भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धि घोषणा गर्ने तयारी गरेका हुन् । लामो समयदेखि कर्मचारीको तलब नबढ्दा सरकारी सेवाप्रतिको आकर्षण घट्दै गएको तथा बढ्दो महँगीका कारण कर्मचारीलाई दैनिक जीवन सञ्चालनमै कठिनाइ भएको निष्कर्षसहित अर्थ मन्त्रालय तलब पुनरावलोकनको तयारीमा पुगेको हो । स्रोतका अनुसार तलब वृद्धि २०७९/८० मा गरिएको १५ प्रतिशतभन्दा कम नहुने सम्भावना रहेको छ ।
सरकारले यसपटक श्रेणीअनुसार तलब पुनर्संरचना गर्ने विषयमा समेत छलफल अघि बढाएको छ । तलब तथा भत्ता पुनरावलोकन समितिले कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तलब अनुपात कम्तीमा ३.५ कायम गर्न सुझाव दिएको छ । हाल मुख्यसचिवले ७७ हजार २१२ रुपैयाँ तलब पाउँदा कार्यालय सहयोगीले २६ हजार ८२ रुपैयाँ पाउँदै आएका छन् । समितिले कार्यालय सहयोगीको तलब २५ प्रतिशत र मुख्यसचिवको तलब ५५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । सर्वोच्च अदालतले समेत मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न सरकारलाई निर्देशन दिइसकेको अवस्थामा सरकारले यसपटक व्यापक तलब पुनर्संरचनासहित नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments