वीरगन्ज नाकाबाट १० महिनामा साढे सात खर्बभन्दा बढीको आयात

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १० गते । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् करिब १५ प्रतिशतले बढी हो । गत आवको १० महिनामा वीरगन्ज नाकाबाट रु छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु आयात भएका थिए । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले पेट्रोलियम पदार्थ तथा फलामजन्य वस्तुको आयात बढेकाले समग्र आयातमा उल्लेख्य वृद्धि भएको बताएका छन् ।

चालु आवको १० महिनामा मात्रै रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन् । त्यसैगरी रु ६९ अर्ब ४२ करोड मूल्यका फलाम तथा फलामजन्य सामग्री, रु ५७ अर्ब ६६ करोड बराबरका मेसिनरी तथा पार्टपुर्जा र रु ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको भन्सार कार्यालयले जनाएको छ । वीरगन्ज नाका नेपालका प्रमुख व्यापारिक प्रवेशद्वारमध्ये एक भएकाले यहाँको आयात वृद्धिले समग्र अर्थतन्त्रको गतिविधिमा समेत प्रभाव पार्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?