एमालेको साथमा जोगियो मधेश सरकार, मुख्यमन्त्री यादवले पाए विश्वासको मत

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ८ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सत्ता साझेदार जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अस्थिरताबीच उनले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिएका हुन् । प्रदेशसभामा उपस्थित १ सय सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको सभामुख रामअशिष यादवले जानकारी दिएका छन् ।

गत मंसिरमा सात दलको समर्थनमा तत्कालीन एमाले नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । तर, सरकार गठन भएको ६ महिनामै फेरि एमालेको समर्थनमा उनले आफ्नो नेतृत्वको सरकार जोगाउन सफल भएका छन् । विश्वासको मतअघि मुख्यमन्त्री यादवले जसपाका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा शपथ गराएका थिए । केन्द्रमा कांग्रेस, एमाले र नेकपाबीच बनेको नयाँ राजनीतिक समीकरणको प्रभाव मधेश प्रदेशमा समेत देखिएको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?