संघीय संसद्का ८ समितिको बैठक आज, बजेटदेखि मानव अधिकारसम्म छलफल
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ ८ गते । संघीय संसद्अन्तर्गत आज एकैदिन आठ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन न्याय तथा मानव अधिकार समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति तथा पूर्वाधार विकास समितिको बैठक आजका लागि तय गरिएको हो । विभिन्न समितिहरूमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यक्रम, सुशासन, मानव अधिकार र सार्वजनिक सेवा सुधारका विषयमा छलफल हुने जनाइएको छ ।

अर्थ समितिमा बजेटसम्बन्धी नीतिगत सुझावमाथि छलफल हुने भने कानुन समितिमा कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दीको मानव अधिकार अवस्थाबारे गृह मन्त्रालयसँग छलफल गरिनेछ । महिला तथा सामाजिक मामिला समितिले महिला, बालबालिका तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा सम्बन्धित मन्त्रीसँग छलफल गर्नेछ भने राज्य व्यवस्था समितिले सुकुम्बासी होल्डिङ सेन्टर र विपद् व्यवस्थापन तयारीबारे समीक्षा गर्नेछ । यस्तै सार्वजनिक लेखा समितिमा बेरुजु फर्छ्यौट, शिक्षा समितिमा सञ्चार मन्त्रालयको कार्ययोजना तथा पूर्वाधार विकास समितिमा मध्यपूर्व युद्धले पूर्वाधार निर्माणमा पारेको असरबारे छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments