सिराहामा २६ ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ७ गते । सिराहा प्रहरीले २६ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–४ का ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका–२२ का ३६ वर्षीय राम बिलेक्षण यादव तथा भारतको विहार राज्य मधुवनी ग्राम पञ्चायत खाजेडी–५ का अन्दाजी २१ वर्षीय चन्दन कामती रहेका छन् । उनीहरूलाई विष्णुपुर गाउँपालिका–१ स्थित सिराहा–चोहर्वा सहायक सडकखण्डबाट नियन्त्रणमा लिइएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सिराहाबाट काठमाडौं जाँदै गरेको बा।प्र।०३–००१ ख ३५३७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्दा रामउदगार यादवको साथबाट २६ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट एक थान डिजिटल तराजु पनि फेला परेको छ । पक्राउ परेकामाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments