कांग्रेसको ‘जरा अभियान’ बर्दीबासबाट सुरु हुँदै, वडा तहसम्म संगठन मजबुत बनाउने लक्ष्य
18 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ६ गते । नेपाली कांग्रेसले पार्टी संगठनलाई वडा तहदेखि नै सशक्त र व्यवस्थित बनाउने उद्देश्यसहित देशव्यापी ‘जरा अभियान’ बुधबारदेखि बर्दीबासबाट सुरु गर्ने भएको छ । मधेश प्रदेशस्तरीय अभियानको उद्घाटन पार्टी सभापति गगन थापाले दिउँसो १२ः३० बजे गर्ने कार्यक्रम तय गरिएको छ । अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद विस्तार गर्दै संगठन सुदृढीकरण, सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता विस्तारलाई प्राथमिकता दिइने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा मधेश प्रदेशका लागि अभियानका सहजकर्ता प्रमोदहरि गुरागाईंका अनुसार अभियानले पार्टीको वैचारिक सन्देश जनस्तरसम्म पुर्याउने र युवा पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्ने लक्ष्य राखेको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसहित केन्द्रीय तथा प्रदेश तहका नेता, जिल्ला सभापति, पालिका प्रमुख, महासमिति सदस्यलगायत करिब ३ सय जनाको सहभागिता रहनेछ । बर्दीबासस्थित गौतम होटलमा हुने कार्यक्रममा संगठन निर्माण, राजनीतिक रणनीति र जनसम्पर्क विस्तारबारे छलफल तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments