राप्रपाबाट सरिता ठाकुर मधेश प्रदेशसभा सदस्य नियुक्त
27 दिन पहिले प्रकाशित
जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समावेशी समूह मधेशीतर्फ रिक्त रहेको प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी सरिताकुमारी ठाकुर नियुक्त हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिस तथा निर्वाचन आयोगको वैशाख ३० गते प्राप्त पत्रका आधारमा सभामुख रामअशिष यादवले सोमबार ठाकुरलाई प्रदेशसभा सदस्यमा नियुक्त गर्नुभएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिनकुमार ठाकुरले जानकारी दिनुभयो ।

नवनियुक्त प्रदेशसभा सदस्य ठाकुरलाई सभामुख यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम सपथ गराइएको सचिवालयले जनाएको छ । यसअघि सो पार्टीकी प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पदबाट फिर्ता बोलाइएपछि उक्त पद रिक्त रहेको थियो । सपथ ग्रहण कार्यक्रममा सभामुख यादवले ठाकुरलाई बधाई दिँदै मधेशको विकास, सुशासन र जनताको हकहितका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
view comments