राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १ गते । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगाइएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३ स्वीकृत गर्दै विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने निर्णय गरेको हो। नयाँ नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यक्षेत्र समेत विस्तार भएको छ भने अब यसअन्तर्गत ४८ वटा निकाय तथा कार्यक्षेत्र समावेश भएका छन्।

यसअघि २०७५ फागुन १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो। पछि २०८२ असोज ९ गते सुशीला कार्की नेतृत्वको सरकारले ती निकायलाई सम्बन्धित मन्त्रालयमै फर्काउने निर्णय गरेको थियो। सो निर्णयअनुसार राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयअन्तर्गत राखिएको थियो भने अन्य विभाग अर्थ मन्त्रालयमा फर्काइएका थिए। अहिले भने सरकारले पुनः राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?