नेपाली कांग्रेस ले जेठ २१ भित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १ गते । नेपाली कांग्रेस ले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेल को सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले तोकिएको समयभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्ने निर्णय गरेको हो। समितिले सदस्यताको अभिलेखीकरणलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्दै प्रविधिमैत्री प्रणाली लागू गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन फाराम भरेर सदस्यता अद्यावधिक गर्न सक्नेछन्। पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फाराम’ उपलब्ध गराइएको छ भने समस्या आएमा कृत्रिम बुद्धिमत्ता आधारित सहायकमार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ। विदेशमा रहेका नेपाली जनसम्पर्क समितिका सदस्यहरूका लागि पनि अनलाइन आवेदनको सुविधा उपलब्ध गराइएको छ। समितिले समयमै सदस्यता अद्यावधिक नगर्ने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट गर्दै मातहतका सबै निकायलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?