कृष्णप्रसाद यादव आज विश्वासको मत लिँदै

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। यसका लागि बिहान ११ बजे मधेस प्रदेश सभा बैठक बोलाइएको छ। सरकारमा सहभागी जनमत पार्टी ले वैशाख २२ गते समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादव विश्वासको मत लिन लागेका हुन्। मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो।

हाल मधेस प्रदेश सभामा १०२ जना सदस्य रहेका छन् भने सरकार जोगाउन ५२ सांसदको समर्थन आवश्यक पर्छ। सरकारसँग नेपाली कांग्रेसका २२, जसपा नेपालका २६ र नेपाल कम्युनिस्ट पार्टीका १५ गरी कुल ६३ सांसदको समर्थन रहेको बताइएको छ। यता, समर्थन फिर्तापछि जनमत पार्टी भित्र आन्तरिक विवाद समेत देखिएको छ। पार्टीले समर्थन फिर्ता लिए पनि जनमतबाट सरकारमा सहभागी अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा भने अझै पदमै रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?