सस्मित पोखरेल भन्छन्– निजी विद्यालय बन्द हुँदैनन्

32 मिनट पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ३१ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले निजी विद्यालय बन्द हुने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बुधबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूसँग संवाद गर्दै उनले सरकारले निजी विद्यालयलाई शिक्षा क्षेत्रको सहयोगी साझेदारका रूपमा हेरेको बताए। मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै निजी विद्यालय बन्द गरिने भन्ने भ्रम फैलाइएकोप्रति दुःख व्यक्त गर्दै उनले कानुनअनुसार निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति पारदर्शी रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुधारका लागि पाठ्यक्रममा एकरूपता आवश्यक रहेको उल्लेख गर्दै ऐन–कानुन इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरे। छलफलका क्रममा निजी विद्यालय सञ्चालकहरूले संस्थागत विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूले पनि चिकित्सा आयोगलगायत सरकारी छात्रवृत्तिमा समान अवसर पाउनुपर्ने माग राखेका थिए। त्यसबारे मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनु स्वाभाविक भए पनि सरकारले चिकित्सा शिक्षा ऐनमा व्यापक संशोधन गर्ने तयारी गरिरहेको जानकारी दिए। साथै, वर्षे बिदा ४५ दिनबाट घटाएर ३० दिन बनाउने निर्णयले पठनपाठनमा असर नपर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?