जनकपुरमा पहिलोपटक महिलाहरूको क्रिकेट टुर्नामेन्ट हुँदै
9 मिनट पहिले प्रकाशित
घनश्याम कुमार मिश्र
जनकपुरधाम, बैशाख ३१ गते । जनकपुरधाम स्थित श्री राम जानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय खेलमैदानमा महिलाहरूको क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय जनकपुरधामको आयोजनमा प्रदेशको आठवटै जिल्लाका महिला क्रिकेट टिमलाई सहभागी गराई टुर्नामेन्ट सुरु भएको छ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशका निमित्त सचिव सुशील कुमार शाहले महिला खेलाडीहरूको प्रोत्साहन र मधेसभित्रै खेलाडी उत्पादन गर्ने उद्देश्य बोकेर पहिलोपटक यो टुर्नामेन्ट सञ्चालन गर्न लागेको बताउनुभयो । यस्ता टुर्नामेन्टहरूले खेलाडीहरुलाई मनोबल बढाउनु सँगै अनुशासित समेत बनाउने बताउनुभयो । मधेस सरकार र हाम्रो मन्त्रालयले खेललाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको र आगामी दिनमा प्रदेश सरकार र हाम्रो मन्त्रालय खेलकुद र खेलाडी सकारात्मक भावका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मधेस खेलकुद परिषदका सदस्य सचिव शिवजी प्रसाद कानुले यो जनकपुरधाम सीताको नगरी भएको र प्राचीन कालमा समेत यहाँ धनुष प्रतियोगिता भएको स्मरण गर्दै आफूहरु सीताको नगरी जनकपुरधाममा राम जानकी स्टेडियममै महिलाहरूको लागि क्रिकेट टुर्नामेन्ट गरेको पहिलोपटक भएको बताउनुभयो । जिल्ला जिल्लामा रहेका महिला क्रिकेट खेलाडीहरूको लागि यो राम्रो अवसर भएको र प्रतिभा समेत पहिचान गर्ने राम्रो थलो बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको हो। मन्तव्यका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले आफू र जनकपुरधाम उपमहानगरपालिका यो क्रिकेट मैदान बनेदेखि नै रंगशाला निर्माणको लागि पहल गर्दै आएको बताउनुभएको हो। गुठी संस्थान र मन्त्रालयसँग समन्वय गर्दै अभिलम्ब यो रङ्गशालालाई निर्माण गरेर मूर्त रूप दिनुपर्ने आवश्यकता औल्याउनुभयो । यो मैदान बनेसँगै निरन्तर यहाँ खेलकुद गतिविधि भइरहेको स्मरण गर्दै मेयर कप समेत निरन्तर आफूहरुले गर्दै आएको बताउनुभयो। मन्तव्यकै क्रममा नेपालको केटसँग क्यानका उपाध्यक्ष रोशन सिंहले मधेस सरकारले खेलाडीहरूलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले पुरस्कार राशि समेत घोषणा गरिसकेको तर अहिलेसम्म उपलब्ध नगराएकोप्रति दुखेसो व्यक्त गर्नुभयो। उपाध्यक्ष सिंहले भने, " तत्काल खेलाडीहरूलाई दिने भनेको पुरस्कार राशि सरकारले उपलब्ध गराउन आग्रह गर्दछु ।" धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे गुड्डुले प्रमुख अतिथि अतिथि र सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी र क्रिकेट ग्राउन्ड बनाउन महत्वपूर्ण भूमिका खेलेकाहरूलाई मायाको सिनो समेत प्रदान गरिएको थियो। जनकपुरधाममा आठवटै जिल्लालाई पहिलोपटक सहभागी गराएर महिला क्रिकेट लिग प्रतियोगिता आजदेखि सुरु भएको छ। मधेस खेलकुद परिषद्को अगुवाई र धनुसा जिल्ला क्रिकेट सङ्घको सहकार्यमा सुरु भएको यो प्रतियोगिता आठ दिनसम्म सञ्चालन हुनेछ । समूह ए र समूह बी गरेर दुई समूहमा विभाजन गरेर टुर्नामेन्ट सुरु भएको छ। प्रतियोगितामा जम्मा १५ वटा खेलहरू हुने छन्। समूह ए अन्तर्गत बारा पर्सा रौतहट र सर्लाही रहेको छ भने समूह बीमा सप्तरी धनुषा महोत्तरी र सर्लाही रहेका छन्। उद्घाटन खेल पहिलो दिन आज धनुषा र महोत्तरीको त्यस्तै सप्तरी र सिरहा बीच दिनको १ बजेदेखि सुरु हुनेछ। भोलिको पहिलो खेल धनुषा र सिराहा त्यस्तै दोस्रो खेल सप्तरी र महोत्तरी बीच हुनेछ। लिग चरणको खेल समाप्त भएपछि फाइनल खेल जेष्ठ ७ गते हुने आयोजकले जनाएको छ। आज भएको उद्घाटन सत्रमा कार्यक्रम संयोजक दिपेन्द्र गोहित , मधेस खेलकुद परिषद्का सदस्य लव अधिकारी, परिषद्का प्रशासन प्रमुख मोहम्मद जियाउल इस्लाम, परिषद्का इन्जिनियर शिवचन्द्र यादव, पूर्व क्रिकेटर नवीन सिंह लाला गुलवन्त बहादुर सिंह, मधेस प्रदेश भलिबल सङ्घका उपाध्यक्ष रविन्द्र यादव, महासचिव रामाशंकर चौधरी, वडा नम्बर १४ का वडा अध्यक्ष पुण्य प्रताप यादव, पूर्व वडा अध्यक्ष रामवरण पासवान लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण धनुषा जिल्ला क्रिकेट सङ्घका सदस्य सरोज मिश्रले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्
view comments