नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का सीईओ पक्राउ, स्मार्ट टेलिकम प्रकरणमा ठगीको आरोप
3 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख ३० गते । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकमको लाइसेन्स तथा सम्पत्ति व्यवस्थापन प्रक्रियासम्बन्धी ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार स्मार्ट टेलिकम ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ अनुसार २०८० वैशाख ३ गतेदेखि कम्पनीको लाइसेन्स स्वतः रद्द भएको थियो। त्यसपछि कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा सरकारको सम्पत्तिमा हानि पुर्याउने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा पाण्डेमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाण्डे मोबाइल फोन बन्द गरी फरार हुने प्रयासमा रहेका बेला कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रमा सवारी जाँचका क्रममा पक्राउ परेका हुन्। उनी लोन रिकभरी कमिटीका अध्यक्षको भूमिकामा पनि प्रक्रियामा संलग्न रहेको उल्लेख गरिएको छ। साथै, बैंकले स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण जडान भएका घरधनीलाई बुझाउनुपर्ने करिब ४० करोड रुपैयाँ घरभाडा र विद्युत् महसुलसमेत लिलामी रकममा समावेश गरी सम्बन्धित पक्षलाई नबुझाएको आरोप लागेको छ। प्रहरीले उक्त विषयमा पनि ठगी तथा आपराधिक विश्वासघातअन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments