एसईई नतिजामा सुधार, ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

54 मिनट पहिले प्रकाशित

काठमाडौं, बैशाख २९ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा धेरै ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० सम्मको जीपीए ल्याएका छन्। त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्। प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा धेरै ७७ हजार ११३ विद्यार्थी ग्रेडेड भएका छन् भने मधेश प्रदेशमा सबैभन्दा धेरै ३१ हजार ७२५ विद्यार्थी नन-ग्रेडेड भएका छन्।

सरकारको निर्देशनअनुसार एक महिनाभित्रै नतिजा सार्वजनिक गरिएको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको हो। शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले अतिरिक्त तयारी कक्षा, परीक्षा केन्द्रमै मूल्यांकन तथा प्रश्नपत्रको ढाँचा पहिल्यै उपलब्ध गराइनु नतिजा सुधारका मुख्य कारण भएको बताएका छन्। यद्यपि यस वर्ष पनि १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड भएका छन्। बोर्डले यस्ता विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने तथा पुनर्योगका लागि १ जेठदेखि ७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?