देउवा समूहद्वारा प्रदेशस्तरीय भेला सुरु

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख २९ गते । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला सुरु गरेको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत औपचारिक कार्यक्रम चलिरहेकै बेला देउवा समूहले छुट्टै आन्तरिक रणनीति निर्माण तथा संगठन सुदृढीकरणका लागि प्रदेशस्तरीय छलफल थालेको हो। पहिलो भेला मंगलबार कोशी प्रदेशअन्तर्गत मोरङको विराटनगरस्थित बिग होटलमा बिहान ११ बजेदेखि सुरु भएको छ।

भेलामा समूहभित्रका नेताहरूलाई एकताबद्ध राख्ने, आन्तरिक समन्वय मजबुत बनाउने तथा वर्तमान राजनीतिक परिस्थितिमा आगामी रणनीति कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ। देउवा समूहले आगामी राजनीतिक गतिविधि र संगठनात्मक तयारीलाई लक्षित गर्दै प्रदेशस्तरीय भेला निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ। यसअन्तर्गत बुधबार बागमती प्रदेशस्तरीय भेला काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजे आयोजना गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?