दुई गोलीकाण्डका मुख्य योजनाकार पक्राउ

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय सिरहाले माघ महिनामा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डका मुख्य योजनाकारलाई पक्राउ गरेको छ। माघ १६ गते सिरहा नगरपालिका–७ बाँसघारीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको घटनामा मृतककै छिमेकी तथा पूर्वशिक्षक ५२ वर्षीय उपेन्द्र यादव पक्राउ परेका हुन्। प्रहरी अनुसन्धानअनुसार पारिवारिक रिसइबीका कारण उनले भारतीय अपराधीमार्फत ३ लाख रुपैयाँमा सुपारी दिएका थिए, जसअन्तर्गत १ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा सीडीआर विश्लेषण, पोलिग्राफ परीक्षण तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र भारतीय प्रहरीको सहयोग लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका उपेन्द्रले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्।

त्यसैगरी माघ ४ गते औरही गाउँपालिका–५ स्थित जितिया मन्दिरका पुजारी श्यामसुन्दर शर्मामाथि गोली प्रहार गरी घाइते बनाइएको घटनामा सोही ठाउँका ५५ वर्षीय हरि ठाकुर पक्राउ परेका छन्। प्रहरीका अनुसार पारिवारिक विवादका कारण उनले भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर पुजारीमाथि गोली प्रहार गराएका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाले दुवै घटनामा संलग्न अन्य भारतीय अपराधीहरूको पहिचान भइसकेको जनाएको छ भने उनीहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?