आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
3 दिन पहिले प्रकाशित
काठमाडौं, बैशाख २८ गते । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सरकारले आजदेखि सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको मार्गदर्शनअनुसार जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयमा सरसफाइसम्बन्धी विशेष अभियान सञ्चालन हुनेछ। अभियानको औपचारिक शुभारम्भ आज बिहान ८ः३० बजे वीर अस्पतालबाट गरिएको हो। सरकारले सरकारी कार्यालयहरूमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन, शौचालयको मर्मत तथा सेवाग्राहीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।

मार्गदर्शनअनुसार कार्यालय परिसर, नाली तथा ढल सफा राख्नुपर्ने, कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्ने तथा खुला रूपमा फोहोर जलाउन निषेध गरिएको छ। सबै शौचालय दुर्गन्धरहित, महिलामैत्री र सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउनुपर्ने व्यवस्था गरिएको छ भने सूचना बोर्ड, नागरिक बडापत्र र हेल्प डेस्कलाई व्यवस्थित गर्नुपर्ने उल्लेख छ। अभियानलाई दिगो बनाउन प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने, नियमित अनुगमन गर्ने र मासिक स्व–मूल्याङ्कन गर्नुपर्ने प्रावधान समेत समावेश गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments