१६ वर्षीया बालिकाको बालविवाह प्रहरीले रोक्यो
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २५ गते । बरहथवा मा प्रहरीले १६ वर्षीया एक बालिकाको विवाह रोकेको छ। बरहथवा नगरपालिका–६ स्थित मुसहर बस्तीमा बालविवाह हुन लागेको सूचना पाएपछि प्रहरी टोली पुगेर विवाह रोकिएको हो।
प्रहरीका अनुसार ती बालिकाको विवाह आगामी आइतबार सर्लाहीकै चन्द्रनगर गाउँपालिका–४, पोखरियामा तय गरिएको थियो। स्थानीयवासीबाट सूचना प्राप्त भएपछि प्रहरी, वडाध्यक्ष तथा कर्मचारीसहितको टोली घटनास्थल पुगेको थियो।

इलाका प्रहरी कार्यालय बरहथवाको महिला तथा बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज प्रहरी निरीक्षक सुष्मा कठायत ले अभिभावकलाई सम्झाइबुझाइ गरी विवाह रोकिएको जानकारी दिनुभयो।
उहाँका अनुसार टोलीले बालविवाह नगर्न–नगराउन अभिभावक तथा स्थानीयलाई सचेत गराएको छ। नेपालको कानुनअनुसार २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्न पाइने व्यवस्था रहेको छ।
प्रहरी निरीक्षक कठायतले बालविवाह न्यूनीकरणका लागि विद्यालयस्तरमै पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको समेत बताउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments