जनकपुरधाम, बैशाख २४ गते । सिरहामा सरकारले लागू गरेको सातामा दुई दिन सार्वजनिक बिदाको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नभएपछि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले सबै स्थानीय तह र विद्यालयलाई निर्देशनात्मक पत्र पठाएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार देशभरका शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न इकाइले पत्राचार गरेको जनाएको छ। विशेषगरी केही संस्थागत विद्यालयहरूले सरकारी निर्णय पूर्ण रूपमा पालना नगरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो।

इकाइद्वारा जारी पत्रमा परिवर्तित शैक्षिक सत्र तथा सार्वजनिक बिदाको व्यवस्थाअनुसार नयाँ शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न सबै स्थानीय तह तथा सामुदायिक र निजी विद्यालयलाई अनुरोध गरिएको छ।
त्यसैगरी विद्यालयहरूलाई अतिरिक्त शैक्षिक गतिविधि, प्रवर्द्धनात्मक कार्यक्रम तथा रचनात्मक सिकाइ क्रियाकलाप सञ्चालन गर्न पनि आग्रह गरिएको छ।
स्थानीय तहहरूले पटक–पटक सचेत गराउँदा पनि केही निजी विद्यालयले दुई दिने बिदा कार्यान्वयनमा अटेर गर्दै आएको शिक्षा क्षेत्रका अधिकारीहरूको भनाइ छ। अब निर्णय कार्यान्वयनमा कडाइ गरिने संकेत समेत दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments