‘स्वतन्त्र प्रेस बिना सुशासन सम्भव छैन’— विक्रम तिमिल्सिना

1 घन्टा पहिले प्रकाशित

काठमाडौँ, २० वैशाख गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै यसले राज्य, राजनीति, प्रशासन र निजी क्षेत्रलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी, तथ्यप्रति प्रतिबद्धता र व्यावसायिक मर्यादा पनि उत्तिकै आवश्यक रहेको औंल्याउँदै “प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ” भनेका छन्। डिजिटल युगमा भ्रामक सूचना, सामाजिक सञ्जालको दुरुपयोग र मनोवैज्ञानिक प्रभावजस्ता चुनौती बढ्दै गइरहेको उल्लेख गर्दै उनले सत्य र जनहितमा आधारित पत्रकारिताको आवश्यकता अझ बढेको बताए। साथै, उनले सत्यका पक्षमा निरन्तर क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?