काठमाडौँ, २० वैशाख गते। गगन थापाले सत्यका आधारमा समाचार लेख्ने सञ्चारकर्मीहरूलाई निर्भय वातावरण आवश्यक रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले स्वतन्त्र र निष्पक्ष प्रेसलाई लोकतन्त्रको मुख्य आधारस्तम्भको रूपमा व्याख्या गरेका हुन्। बदलिँदो समयसँगै सूचना संकलन र सत्यको खोजी झन् जटिल बन्दै गएको उल्लेख गर्दै उनले दबाब र असुरक्षाबीच पनि सत्यको पक्षमा उभिने पत्रकारप्रति सम्मान व्यक्त गरेका छन्।

थापाले प्रेस स्वतन्त्रतालाई कुनै व्यक्ति वा संस्थाविरुद्धको आक्रमणका रूपमा नभई नागरिकको सुसूचित हुने अधिकारको संरक्षणका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। उनले सत्यनिष्ठ र जिम्मेवार पत्रकारितालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न राज्य, समाज र सबै सरोकारवालाको समान भूमिका आवश्यक रहेको उल्लेख गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments