सीमावर्ती क्षेत्रमा कडाइ गरिएको भन्सार नियम फिर्ता गर्न गगन थापाको सरकारसँग माग

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख १७ गते । नेपाली कांग्रेसका नेता गगन थापाले सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमणपछि संघीय सरकारले लागू गर्न खोजेको अव्यवहारिक भन्सार नियमप्रति कडा आपत्ति जनाएका छन्। उनले १०० रुपैयाँभन्दा बढीको सामानमा समेत भन्सार बुझाउनुपर्ने व्यवस्थाले स्थानीय नागरिकको दैनिक जीवन अत्यन्त कठिन बनेको बताए। उनका अनुसार बिहान मजदुरीका लागि सीमा पार गर्ने व्यक्तिलाई सामान्य वस्तुका कारण घण्टौं रोकिने अवस्था सिर्जना हुनु राज्यको असंवेदनशील नीतिको उदाहरण हो।

थापाले यो नियमलाई “नागरिकमैत्री नभई हेपाहा नीति” भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनले सीमावर्ती क्षेत्रका महिला, मजदुर, किसान र विद्यार्थी सबै प्रभावित भएको उल्लेख गर्दै यस्तो व्यवस्थाले नागरिक सम्मानमा चोट पुगेको बताए। साथै, यस नीतिबाट उल्लेखनीय राजस्व समेत नउठ्ने भन्सार विभागकै स्वीकारोक्ति रहेको भन्दै उनले सीमामा पुरानो सहज व्यवस्था कायम गर्न सरकारसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?