भारतीय कडाइले नेपाली चिया उद्योग धरापमा, निर्यात प्रक्रिया महँगो र जटिल

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख १७ गते । भारतले सन् २०२६ मे १ देखि लागू गर्ने नयाँ नियमअनुसार नेपाली चिया निर्यातमा प्रत्येक गाडीका लागि अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने भएपछि उद्योग संकटमा पर्ने संकेत देखिएको छ। यसअघि एउटै परीक्षणबाट धेरै गाडीका चियालाई अनुमति दिइने व्यवस्था हटेसँगै निर्यात प्रक्रिया ढिलो, झन्झटिलो र खर्चिलो बन्ने भएको छ। चिया उद्योगीहरूका अनुसार प्रत्येक परीक्षणमा ठूलो लागत लाग्ने र प्रतिवेदन आउन लामो समय लाग्ने हुँदा निर्यात व्यवहारिक रूपमा कठिन बन्नेछ। उनीहरूले यसलाई “अघोषित नाकाबन्दी” भन्दै आपत्ति जनाएका छन्।

नेपालबाट वार्षिक निर्यात हुने करिब १५ हजार ६ सय मेट्रिक टन चियामध्ये ८६ प्रतिशत भारतमै जाने भएकाले यो निर्णयले ठूलो असर पार्ने देखिएको छ। झापा, इलामलगायत जिल्लामा उत्पादन हुने अर्गानिक चिया अन्तर्राष्ट्रिय बजारमा चिनिए पनि भारतको कडाइले हजारौँ किसान र श्रमिकको रोजगारी जोखिममा पर्ने चिन्ता बढेको छ। सरोकारवालाहरूले कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न र नेपालको प्रयोगशाला परीक्षणलाई मान्यता दिलाउन सरकारसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?