मलङ्गवामा अवैध अस्पतालमाथि कडाइ, अनुगमनपछि धमाधम बन्द

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ११ गते ।  सर्लाहीको सदरमुकाम मलङ्गवामा सञ्चालनमा रहेका अवैध अस्पताल तथा पोलिक्लिनिकमाथि कडाइ सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय, नगरपालिकालगायत सरोकारवालाको संयुक्त टोलीले बिहीबारदेखि अनुगमन थालेर दर्ता नभएका र मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई बन्द गराउन थालेको हो। अनुगमन टोली पुग्ने सूचना पाएपछि केही सञ्चालक अस्पताल नै बन्द गरेर फरार भएको बताइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले अवैध अस्पतालको बिगबिगीबारे गुनासो बढेपछि अनुगमन सुरु गरिएको जानकारी दिएका छन्।

यसअघि २०८१ फागुनमा तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले गरेको अनुगमनमा मलङ्गवाका अधिकांश अस्पताल अवैध भेटिएपछि १५ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिइएको थियो, तर तीमध्ये धेरै पुनः सञ्चालनमा आएका थिए। हालको अनुगमनमा पनि दर्ता नभएका तथा मापदण्ड नपुगेका संस्थालाई सिल गरिएको प्रशासनले जनाएको छ। अवैध अस्पतालहरूले मनपरी उपचार, चर्को शुल्क असुली तथा अदक्ष जनशक्ति प्रयोग गर्ने गरेको गुनासो रहँदै आएको छ। केही महिनाअघि नवलपुरमा अवैध आयुर्वेद औषधालयमा उपचारका क्रममा एक किशोरीको मृत्यु भएपछि अनुगमनको आवश्यकता झन् बढेको बताइएको छ। स्थानीय तहले प्रभावकारी अनुगमन नगरेको आरोपबीच अहिले पुनः कडाइ सुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?