सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ९ गते ।  सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको निर्णयअनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ। पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई सो छुट नदिएको भन्दै व्यापक उजुरीहरू प्राप्त भएपछि विभागले पुनः ताकेता गरेको हो। विभागका निर्देशक गणेशमान सिं राईद्वारा जारी पत्रमा विद्यार्थी सहुलियत सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ। सरकारले तोकेको यो सहुलियत कार्यान्वयन नगर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याइने समेत विभागले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?