जनकपुरधाममा शिक्षा मन्त्री रानी शर्मा तिवारीको जोड—समयानुकूल र प्रविधिमैत्री शिक्षा आवश्यक

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ७ गते । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएकी छन्। जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाले मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताइन्।

मन्त्री तिवारीले विद्यालयस्तरबाटै अनुशासन, नैतिक शिक्षा र सीपमूलक ज्ञानको विकास आवश्यक रहेको उल्लेख गर्दै मधेश प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति र पूर्वाधार विकासलाई प्राथमिकता दिएको जानकारी गराइन्।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए। उनले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गरे।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको अवस्था र योजनाबारे जानकारी दिँदै शैक्षिक गुणस्तर उकास्न स्थानीय तह र अभिभावकसँग सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा कक्षा १२ विज्ञान समूहका १० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?