प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र ३० गते ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन (पैत्रिक सम्पत्ति) रहेको छ भने काठमाडौं, धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल (फेसबुक, युट्युब आदि) बाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको विवरण उल्लेख गर्नुभएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग चारवटा घर/अपार्टमेन्ट, बैंकमा एक करोड ९० लाख रुपैयाँ नगद, ४५ तोला सुन र विभिन्न जलविद्युत् तथा बैंकमा सेयर रहेको छ । गृहमन्त्री सुधन गुरुङसँग धनकुटामा १९ रोपनी १५ आना जग्गा, चितवन र गोरखामा पैत्रिक जग्गा, सेयर बजारमा चार करोड ३१ लाखभन्दा बढी लगानी, ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, कानुनमन्त्री सोविता गौतम, महिला बालबालिका मन्त्री सीता बादी, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, संघीय मामिला मन्त्री प्रतिभा रावल, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री गौरीकुमारी यादव, स्वास्थ्य मन्त्री निशा मेहता, संस्कृति मन्त्री खड्कराज पौडेल, सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र श्रममन्त्री रामजी यादवका सम्पत्ति विवरणमा पनि घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सेयर र सवारीसाधन उल्लेख छन् ।

सम्पत्ति विवरणमा पैत्रिक सम्पत्ति, विवाहमा प्राप्त गरगहना, बैंक ऋण र विभिन्न स्रोतबाट प्राप्त आयलाई उल्लेख गरिएको छ । थप विस्तृत विवरण प्रधानमन्त्री कार्यालयको वेबसाइटमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?