महोत्तरीमा अन्तरजातीय विवाह गरेकी बुहारीलाई सासुले जातीय छुवाछुत गरेको आरोप : सासुलाई पक्राउ
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ३० गते । अन्तरजातीय विवाह गरेको कारणले जातीय छुवाछुत र अमानवीय व्यवहार गरेको आरोपमा महोत्तरीको औरही नगरपालिका–५ की ४५ वर्षीया **बविता देवी** लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत माघ ८ गते दर्ता भएको मुद्दापछि फरार रहेकी बविता देवीलाई घरबाटै पक्राउ गरिएको हो । उनलाई आफ्नी बुहारी **इन्द्रा कुमारी मण्डल** ले दिएको जाहेरीका आधारमा जातीय छुवाछुत तथा अमानवीय व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
इन्द्रा कुमारी मण्डलका अनुसार नावालक सन्तानसहित घर प्रवेश गर्न खोज्दा सासु बविता देवीले “कुलदेवता रिसाउने” भन्दै कुटपिट गर्दै घरभित्र पस्न नदिएको र जातीय रूपमा अपमानजनक शब्द प्रयोग गरेको आरोप छ । इन्द्रा श्रीमान **मेघनाथ यादव** सँग भागेर विवाह गरेकी थिइन् । विवाहका बेला दुवै १७ वर्षका थिए ।
इन्द्राका अनुसार सासुले श्रीमानलाई “सामान किनिदिन्छु” भनी भारतको कन्हमा लगेर लुकाएकी छिन् । फागुन १२ गते जन्मिएको शिशुले अहिलेसम्म आफ्नो बाबुको अनुहार समेत देख्न पाएको छैन । इन्द्राले श्रीमानसँगै परिवारका अन्य सदस्यविरुद्ध अंश मुद्दा समेत दर्ता गरेकी छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । यस्ता घटनाले समाजमा अझै विद्यमान जातीय विभेद, बालविवाह र पारिवारिक हिंसाको समस्या उजागर गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments