पर्सामा प्रहरी जवानको हत्या : चार जनालाई पक्राउ
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ३० गते । सप्तरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत २८ वर्षीय प्रहरी जवान विकास चौरसियाको पर्सामा हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाँको घरमा आइतबार साँझ करिब ५ बजे गम्भीर घाइते अवस्थामा फेला परेका चौरसियालाई उद्धार गरी नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न रहेको आरोपमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी श्रीमती २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र भारतीय नागरिक २० वर्षीय कन्हैया कुमार पक्राउ परेका छन् ।
प्रहरी जवान विकास चौरसिया १० दिनको घर बिदामा पर्सा आएका थिए । उनको घर पर्साको कालिकामाई गाउँपालिका–१ मा रहेको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र थप विवरण अहिले सार्वजनिक गर्न नसकिने प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments