सिरहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत २६ गते । सिराहा नगरपालिका–१५ बुधौरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका–३ का १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका–१२ का अर्का १९ वर्षीय अभिषेक मुखिया र सोही स्थानका २१ वर्षीय अरविन सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चैत २४ गते साँझ करिब ७ बजे म.प्र.०१–००४ प २६८८८८ नम्बरको मोटरसाइकल शङ्का लागेर जाँच गर्दा इन्धन ट्याङ्कीको बिर्काभित्र लुकाएर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो।
बरामद गरिएको पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ५०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखी थप अनुसन्धान भइरहेको छ। प्रहरीले चैत २५ गते सिराहा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments