१६० केभी विद्युत् दिलाइदिने भन्दै घुस लिँदा प्राधिकरणका इन्जिनियर पक्राउ
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट घुस रकमसहित नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियरलाई पक्राउ गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१ पोर्ताहास्थित कोशी साइड रिसोर्ट होटलबाट कञ्चनपुर वितरण केन्द्रमा कार्यरत प्रमुख इन्जिनियर, धनुषा जनकपुर उपमहानगरपालिका–९ निवासी ३५ वर्षीय महेन्द्र कुमार दासलाई एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।
दासले स्थानीय २३ वर्षीय कृष्ण मुरारी यादवसँग ईभी चार्जिङ सञ्चालनका लागि आवश्यक १६० केभी विद्युत् उपलब्ध गराइदिने भन्दै घुस मागेका थिए। हाल ९० केभी मात्र सञ्चालनमा रहेको अवस्थामा थप क्षमताका लागि रकम लिँदै गर्दा सोमबार अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो। पक्राउ परेका दासलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि अख्तियारको इटहरी कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments