मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीको एसईई परीक्षार्थीलाई शुभकामना : भयमुक्त वातावरणमा आत्मविश्वासका साथ परीक्षा दिन आग्रह

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र १९ गते ।  मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीले बिहीबारदेखि देशभर सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिनुभएको छ। बिहीबार बिहानदेखि सुरु हुने एसईई परीक्षामा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै मन्त्री तिवारीले सबै परीक्षार्थीले उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले परीक्षार्थीहरूलाई भयमुक्त वातावरणमा आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै सकारात्मक सोच र संयमता अपनाउन सुझाव समेत दिनुभएको छ। शुभकामना सन्देशमा सफलता निरन्तर प्रयास, दृढ सङ्कल्प र आत्मविश्वासको परिणाम हुने उहाँको भनाइ छ। मन्त्री तिवारीले एसईई विद्यार्थी जीवनको एक महत्वपूर्ण मोड भएको उल्लेख गर्दै यसले केवल शैक्षिक ज्ञान मात्र नभई अनुशासन, धैर्यता, परिश्रम र आत्मविश्वासको समेत मूल्यांकन गर्ने बताउनुभयो। विद्यार्थीहरूले अहिलेसम्म गरेको निरन्तर मेहनत, लगनशीलता र समर्पण नै सफलताको आधार बन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको सफलतामा परिवार, समाज र राष्ट्रको आशा जोडिएको उल्लेख गर्दै आजका विद्यार्थीहरू नै भोलिका सक्षम नागरिक र राष्ट्र निर्माणका आधार स्तम्भ हुने बताउनुभयो। यसैगरी, परीक्षामा सहभागी विद्यार्थीहरूलाई उचित सहयोग र मर्यादित वातावरण सुनिश्चित गर्न प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सम्बन्धित सबै निकायलाई पनि उहाँले अनुरोध गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?