सप्तरीमा लागुऔषध सेवन गरिरहेको अवस्थामा तीन जना पक्राउ : डाइजेपाम, फेनरगन र बुप्रेनोर्फिनसहित मोबाइल बरामद
5 घन्टा पहिले प्रकाशित
राजविराज (सप्तरी), चैत १२ । सप्तरी प्रहरीले लागुऔषध मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जना एकै वडाका हुन्। उनीहरूमाथि अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार बुधबार साँझ करिब ७ बजे खड्क नगरपालिका–१० फुलबरियास्थित सुन्दर चौधरीको घरमा लागुऔषध सेवन भइरहेको गोप्य सूचनाका आधारमा खानतलासी गरिएको थियो। सो क्रममा घरबाट प्रहरीले डाइजेपाम ११ एम्पुल, फेनरगन १० एम्पुल र बुप्रेनोर्फिन १२ एम्पुलसहित विभिन्न आइफोन ११ प्रो, रेड्मी नोट १४ प्रो र रियलमी नोट ७० प्रो मोबाइल सेटहरू बरामद गरेको छ।
घटनास्थलबाट ३० वर्षीय सुन्दर चौधरीसहित वडा नं. १० बेल्हाका २२ वर्षीय शुभास चौधरी र २१ वर्षीय राजाबाबु चौधरीलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पुरीले बताएका छन्। पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको र अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments