नक्कली सुन कारोबार आरोपमा चार जना पक्राउ

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ११ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित जगत रिसोर्ट होटलबाट सुन जस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भई हाल भारतको दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर–१० का ३० वर्षीय अरविन्द चौधरी, बौधिमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारतको सिलिगुडी बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक रुपा लाबुङको नेतृत्वमा खटिएको टोलीले होटलको कोठा नं. १०२ मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

तलासीका क्रममा अरविन्द चौधरीको पाइन्टको खल्तीमा रहेको पर्सभित्र ‘क्रेडिट स्विस १० ग्राम फाइन गोल्ड ९९९.९’ लेखिएको प्याकसहित नक्कली सुन जस्तो देखिने धातु सात थान, आठ थान मोबाइल र ‘ईस्ट इन्डिया कम्पनी’ लेखिएको एन्टिक जस्तो दृष्टि यन्त्र बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले ठगी गर्ने उद्देश्यले नक्कली सुन प्रयोग गरेको खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?