यौनधन्दा सञ्चालन गर्ने होटलमा छापा : सञ्चालिका र भारतीय नागरिकसहित चार जना पक्राउ
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १० गते । महोत्तरीको जलेश्वरस्थित कोइराला होटल तथा लजमा यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले होटल सञ्चालिका र भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. २, मटिहानी चोक नजिकै रहेको उक्त होटलमा छापा मारेको थियो।
प्रहरी टोलीले होटलको खानतलासी गर्दा पहिलो र दोस्रो तलाका कोठाहरूमा दुई जना पीडित महिला र दुई जना भारतीय पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो। होटलका कोठाभित्र खाटको डस्ना मुनि र भुइँमा प्रयोग गरिएका तथा नगरिएका अस्थायी साधनहरू छरपष्ट अवस्थामा फेला परेका थिए। पक्राउ पर्नेहरूमा भारतको मधवापुरका २८ वर्षीय र मधुवनीका ३६ वर्षीय पुरुष रहेका छन्। त्यस्तै, जलेश्वर–२ का ६० वर्षीय पुरुष र ४५ वर्षीया होटल सञ्चालिकालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए। प्रहरीले होटल सञ्चालिकाले अनुचित लाभ लिनका लागि महिलाहरूलाई प्रलोभनमा पारेर यौनधन्दामा लगाएको दाबी गरेको छ। पीडित महिलाहरूको उद्धार गरी थप प्रक्रिया अगाडि बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments