नेपाल आयल निगमको स्पष्टता : ग्यास अभाव छैन, फागुनमा उच्च आयात भयो

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र ९ गते । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले वास्तविक तथ्यांक सार्वजनिक गर्दै आयातमा कमी नआएको बताएको हो। निगमका अनुसार फागुन महिनामा पछिल्लो तीन महिनायता सबैभन्दा बढी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास भित्रिएको छ, जुन पुसको ४७ हजार ४६० टन र माघको ४६ हजार २८५ टनभन्दा उच्च हो। गत वर्षको फागुनको तुलनामा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको छ।

खाडी क्षेत्रको तनाव र आयात प्रक्रियामा देखिएको जटिलताका कारण उपभोक्ताले ग्यास सहजै नपाएको भए पनि वास्तविक अभाव नभएको निगमको दाबी छ। यही कारण २८ फागुनदेखि निगमले १४.२ केजीको सट्टा ७.१ केजी (आधा सिलिन्डर) मात्र वितरण गरिरहेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो। निगमले उपभोक्तालाई आश्वस्त पार्दै आपूर्ति व्यवस्थापनमा कुनै समस्या नरहेको र केही दिनभित्रै पूर्ण सिलिन्डर वितरण सहज हुने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?