हरि खेतान क्याम्पस विवाद समाधान, तीन बुँदे सहमति

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ९ गते । हरि खेतान बहुमुखी क्याम्पस मा उत्पन्न विवाद अन्ततः सहमतिमा टुङ्गिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले क्याम्पस प्रशासन र सञ्चालकमाथि कडा टिप्पणी गरेपछि झण्डै ९ घण्टापछि भएको छलफलले निष्कर्ष निकालेको हो। विद्यार्थी, क्याम्पस प्रशासन र सरोकारवालाबीच भएको तीन बुँदे सम्झौताअनुसार कक्षा ११–१२ को आन्तरिक परीक्षा तत्काल सञ्चालन गर्ने, घाइते विद्यार्थीहरूको उपचार क्याम्पसले गर्ने र बाँकी समस्या पुनः छलफलमार्फत समाधान गर्ने सहमति भएको छ।

यसअघि परीक्षा दिन पुगेका विद्यार्थीलाई एक्कासी सूचना जारी गर्दै परीक्षा स्थगित गरिएपछि विवाद चर्किएको थियो। शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै परीक्षा बहिष्कार गरेपछि स्थिति जटिल बनेको बताइएको छ। आक्रोशित विद्यार्थीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भई केही घाइते भएका थिए र क्याम्पसको सम्पत्तिमा क्षति पुगेको थियो। जिल्ला प्रशासन कार्यालयले मध्यस्थता गरेपछि अन्ततः सहमति जुट्दै हालका लागि आन्दोलन स्थगित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?