लिपुलेक भञ्ज्याङबाट भारत–चीन सीमा व्यापार ६ वर्षपछि पुनः सुरु हुँदै : सन् २०२६ को व्यापारिक सिजनका लागि तयारी
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत ८ गते । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको लिपुलेक भञ्ज्याङबाट हुने भारत–चीन सीमा व्यापार ६ वर्षपछि पुनः सुरु हुने भएको छ। सन् २०१९ देखि बन्द रहेको यो व्यापारिक नाका सन् २०२६ को व्यापारिक सिजन (जुनदेखि सेप्टेम्बर) का लागि खोल्ने प्रक्रिया अघि बढेको छ। पिथौरागढका जिल्ला अधिकारी आशिष भट्टगाईंले केन्द्रीय सरकारको निर्देशनपछि आवश्यक तयारी सुरु भएको जानकारी दिएका छन्। भारतीय विदेश मन्त्रालयले यसका लागि एनओसी जारी गरिसकेको छ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्राचार गर्दै हिमाली नाकाबाट व्यापार पुनः सुचारु गर्न अनुरोध गरेका छन्। गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले पनि अनुमति दिइसकेका छन्। जिल्ला प्रशासनलाई सम्बन्धित विभागहरूसँग समन्वय गरी पूर्ण तयार रहन निर्देशन दिइएको छ। दुवै पक्षबीच समन्वय बढाउन स्थानीय अधिकारीहरूको सम्पर्क विवरण चिनियाँ पक्षसँग साझा गरिने बताइएको छ। व्यापारिक गतिविधि सुचारु गर्न ट्रेड पास जारी गर्ने निकाय, मुद्रा विनिमय गर्ने बैंक, भन्सार विभाग र धार्चुला प्रशासनलाई विस्तृत कार्ययोजना बनाउन निर्देशन दिइएको छ। यसअन्तर्गत व्यापारीहरूका लागि ट्रान्जिट क्याम्प, सञ्चार सुविधा, बैंकिङ सेवा, सुरक्षा परिचालन र चिकित्सा सहयोगको व्यवस्था मिलाइनेछ। सन् १९९२ मा लामो समयको अवरोधपछि खुलेको लिपुलेक मार्ग कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि बन्द भएको थियो।
स्थानीय व्यापारीहरूले यो निर्णयको स्वागत गरेका छन्। सीमान्त व्यापार संगठनका अध्यक्ष जीवन सिंह रोन्कालीले नाका खुल्ने भएपछि सन् २०१९ देखि तिब्बतको तकलाकोटस्थित गोदाममा थन्किएका सामानहरू ल्याउन सहज हुने बताए। अगस्ट २०२५ मा भारत र चीन नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र रहेको लिपुलेख भञ्ज्याङमार्फत सीमा व्यापार पुनः सुरु गर्न सहमत भएका थिए। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा यो सहमति भएको हो। भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबिचको भेटवार्तामा दुवै देश यसमा सहमत भएका हुन्। संयुक्त विज्ञप्तिको बुँदा नम्बर ९ मा लिपुलेख भञ्ज्याङ, शिपकी ला भञ्ज्याङ र नाथु ला भञ्ज्याङमार्फत सीमा व्यापार पुनः सुरु गर्ने उल्लेख छ। सन् २०१९ को पछिल्लो व्यापार सत्रमा करिब १.९ करोड भारु बराबरको आयात र १.३ करोड भारु बराबरको निर्यात भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments