प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटका लागि मधेश प्रदेशको १५ सदस्यीय टोली घोषणा : अनिल साह कप्तान

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ६ गते ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश क्रिकेट संघले १५ सदस्यीय टोली घोषणा गरेको छ। संघले राष्ट्रिय खेलाडी अनिल साहको कप्तानीमा टोली सार्वजनिक गरेको हो। टोलीमा पवन सर्राफ, रुपेश सिंह, आदिल अंसारी, रञ्जित कुमार, अरनिको यादव, महमद समीर, निरज यादव, अभिषेक तिवारी, विशाल पटेल, हिमांशु दत्त, मयन यादव, विशाल सुस्लिङ, आशिक बैठा र प्रदीप पासवान रहेका छन्। बारा, पर्सा र सप्तरीमा तीन चरणमा भएको छनोट प्रतियोगिताबाट यो टोली छनोट भएको मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए। टोलीमा बाराका ५, धनुषाका ३, पर्साका २, सिरहाका २ तथा महोत्तरी, सर्लाही र रौतहटका १–१ खेलाडी परेका छन्।

प्रतियोगिता चैत ७ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेल जनकपुरधामस्थित रामजानकी रङ्गशालामा कोशी र मधेश प्रदेशबीच हुनेछ भने सोही दिन वीरगञ्जको नारायणी रङ्गशालामा लुम्बिनी र कर्णालीबीच खेल हुनेछ। प्रतियोगिताको फाइनलसहित १९ खेल वीरगञ्जमा, उद्घाटनसहित १७ खेल जनकपुरमा र बाँकी १० खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। आईसीसी विश्वकप लिग–२ को तयारीका लागि किर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय रङ्गशालामा कुनै पनि खेल नहुने गरी नेपाल क्रिकेट संघले सबै खेल मुलपानीमा सारिसकेको छ। झण्डै एक महिनासम्म चल्ने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहनेछ। नेपाल पुलिस क्लब साविक विजेता टोली हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?