रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पतालमा सेवा सुधारको माग : रास्वपा लहानले ८ बुँदे ज्ञापनपत्र बुझायो

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ६ गते ।  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पतालमा सेवा सुधार, पारदर्शिता र जनमैत्री व्यवस्थापनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लहान नगर समितिले अस्पताल प्रशासनलाई ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ। अस्पतालमा हालै भएको कर्मचारी नियुक्ति, सेवा प्रवाहमा लापरबाही तथा पारदर्शिताको अभावप्रति नागरिकस्तरबाट बढ्दै गएको गुनासोलाई सम्बोधन गर्न रास्वपाले औपचारिक रूपमा ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्रमा फागुन मसान्तसम्मको मासिक तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नासम्बन्धी विज्ञापन, नियुक्ति प्रक्रिया तथा स्वयंसेवक सम्बन्धी सम्पूर्ण विवरण पारदर्शी रूपमा उपलब्ध गराउनुपर्ने, ‘आमा सुरक्षा कार्यक्रम’ को आय–व्यय तथा समय व्यवस्थापनको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने, चालु आर्थिक वर्षमा नियुक्त भएका सबै कर्मचारीको नियुक्तिपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष रामनारायण मेहताले ज्ञापनपत्र बुझ्दै बिरामीको चाप बढ्दै जाँदा केही कर्मचारीलाई स्वयंसेवकका रूपमा बिना तलब खटाइएको र आन्तरिक स्रोत पर्याप्त नभएकाले नियमित तलबमा राख्न नसकिएको बताए। प्रदेश सरकारले मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त नगर्दा झन्डै दुई वर्षदेखि निमित्त मेसुको भरमा अस्पताल सञ्चालन गर्नुपरेको उनको भनाइ छ। रास्वपा लहान नगर सभापति लवकुमार मण्डलद्वारा हस्ताक्षरित ज्ञापनपत्रको बोधार्थ मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिरहा तथा इलाका प्रशासन कार्यालय लहानमा पठाइएको छ। विगत ४७ वर्षदेखि मुरारका र सारडा परिवारले अस्पतालको नाममा दान गरेको जग्गाको स्वामित्व गत मङ्सिरमा मात्र अस्पतालकै नाममा दर्ता भएको थियो। जग्गा अस्पतालको स्वामित्वमा आएपछि नयाँ भवन निर्माण, सिटी स्क्यान, एमआरआई सेवा तथा विशिष्टीकृत ट्रमा सेन्टर स्थापना गर्ने बाटो खुलेको छ। रास्वपाले अस्पतालको सेवा सुधार, पारदर्शिता र जनमैत्री व्यवस्थापन सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?