ललितपुरको श्रीराम ग्यास उद्योगको गोदाममा ६ हजार ३७७ सिलिन्डर लुकाइएको फेला : ३ लाख जरिवाना, बजारमा पठाउने निर्देशन

7 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र ३ गते ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योग प्रालिको गोदाममा ६ हजार ३७७ वटा १४.२ केजी तौलका ग्यास सिलिन्डर लुकाएर राखेको फेला पारेको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भइरहेका बेला कृत्रिम अभाव सिर्जना गरेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३९ बमोजिम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ। चैत २ गते छापा मार्दा गोदाममा यति ठूलो परिमाणमा सिलिन्डर लुकाइएको पाइएको विभागले जनाएको छ।

विभागले ती सिलिन्डरलाई नेपाल आयल निगमको समन्वय र रोहवरमा तत्काल बजारमा पठाउन निर्देशन दिएको छ। तर सिलिन्डरलाई पूर्ण (१४.२ केजी) नै बेच्ने वा हालको विशेष व्यवस्था अनुसार आधा (७.१ केजी) बनाएर बेच्ने भन्नेबारे निगमसँग छलफल भइरहेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने, “वाणिज्य विभागले कारबाही गरिसकेको छ, अब वितरण मोडालिटीबारे छलफल हुँदै छ। ठोस निर्णय हुनासाथ जानकारी गराउँछौं।” विभागले ग्यास उत्पादक तथा वितरकहरूलाई कृत्रिम अभाव नगरी आपूर्ति सहज बनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?