धनुषामा अवैध सामान बरामद, सात लाखभन्दा बढीको सामग्री नियन्त्रणमा

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २ गते ।  मधेस प्रदेश प्रहरी ले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा मारेर ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्व शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा राखिएका १२ वटा बोराबाट विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र लेडिज चप्पल फेला परेको प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य करिब सात लाख रुपैयाँभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय धनुषा ले जानकारी दिएको छ।

बरामद सामग्री इलाका प्रहरी कार्यालय फुलगामामा बुझाइएको छ र घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ। उक्त स्थान सो कार्यालयबाट करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ। प्रहरीले गोप्य सूचनाका आधारमा अवैध भण्डारण, तस्करी तथा चोरी–छलका घटनामा नियमित रूपमा छापा मार्दै आएको जनाएको छ। साथै, बरामद सामानको स्रोत र संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?