सप्तरीमा १ क्विन्टल ११ किलो ८ सय ग्राम गाँजा बरामद : अटो चालक र सहयात्री पक्राउ

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २ गते ।  सप्तरीको तिरहुत गाउँपालिका–२ बडहरास्थित कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले १ क्विन्टल ११ किलो ८ सय ग्राम गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई शनिबार नियन्त्रणमा लिएको हो।

फागुन ३० गते साँझ सोही सडक खण्डमा चेकजाँच गर्ने क्रममा कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटो रोकी जाँच गर्दा अटोभित्र रहेका तीन वटा सेतो बोरा र एक वटा पहेँलो बोरा खोलेर हेर्दा कालो प्लास्टिकमा प्याक गरिएको ६ वटा पोका फेला परेको थियो। ती पोकाको तौल गर्दा प्लास्टिकसहित १ क्विन्टल ११ किलो ८ सय ग्राम गाँजाजस्तो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा अटो चालक सप्तरीको कञ्चनरूप नगरपालिका–७ सितापुरका ४२ वर्षीय जामुन महतो र अटोमा सवार सोही स्थानकी २८ वर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट आइतबार लागुऔषध कसुर मुद्दामा सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजाको स्रोत, ओसारपसारको सञ्जाल र अन्य संलग्न व्यक्तिको खोजी तीव्र बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?