महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय नम्बरको कार नियन्त्रणमा : चालक फरार

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र १ गते । महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गए राति करिब साढे ११ बजे विशेष सूचनाको आधारमा रामगोपालपुर नगरपालिका–८ हरिणमरिण–सहसौला कच्ची सडक खण्डमा उक्त परिमाणको गाँजा बरामद भएको हो।

खोजतलासका क्रममा पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ जाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको डस्टर कार शङ्कास्पद अवस्थामा बाटोमा रोकिएको भेटिएको थियो। बर्दीबासस्थित लागु औषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख सरोज अधिकारी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त गस्ती टोलीले कारको चेकजाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २० पोका गाँजा फेला पारेको जिल्ला प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले जानकारी दिए। बरामद गाँजा र कार प्रहरीले नियन्त्रणमा लिए पनि फरार रहेका कार चालकको खोजी कार्य जारी रहेको छ। घटनास्थल बर्दीबासदेखि करिब ३० किलोमिटर दक्षिणतर्फ रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?