महोत्तरीमा मानव बेचबिखन प्रयासमा सात जना पक्राउ
14 घन्टा पहिले प्रकाशित
जनकपु्रधाम, फाल्गुन २९ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक विश्वम्भर नाथ साहका अनुसार भारतीय नागरिकहरूले नेपाली महिलालाई विवाहको प्रलोभनमा पारेर भारततर्फ लैजान खोज्दा उनीहरूलाई भिठामोड नाकाबाट दुई दिनअघि पक्राउ गरिएको हो।
प्रहरीका अनुसार सूचनाको आधारमा जलेश्वर नगरपालिका–३ मलिवारा स्थित नेपाल–भारत सीमाक्षेत्रबाट चार जना भारतीय नागरिक एक नेपाली महिलासँग पक्राउ परेका थिए। पक्राउ पर्नेमा भारत गुजरातका ३६ वर्षीय सदिक बाक्सु भुर्च, ५६ वर्षीय हसम अबदुला पटेलिया, २८ वर्षीय किसन भगवानभाई गढिया र २८ वर्षीय सुनिल भगवानभाई गढिया रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले नेपाली महिलालाई ललाइफकाइ तथा प्रलोभनमा पारेर विवाहको नाटक गरी भारततर्फ लैजान खोजेका थिए। यस घटनामा संलग्न थप तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।
यसमा पीडितको नक्कली आमाको भूमिका निर्वाह गर्ने मिथिलाबिहारी नगरपालिका–३ की ५० वर्षीया महिला, बहिनीको भूमिका निभाउने भंगहा नगरपालिका–६ की १८ वर्षीया महिला तथा नेपालतर्फको मुख्य योजनाकार भंगहा नगरपालिका–८ का एक पुरुष रहेका छन्। पक्राउ परेका महिलाहरूको नाम भने सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार सातै जनालाई अदालतमा उपस्थित गराई म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments